काठमाडौं— सर्वोच्च अदालतले एनसेलको शेयर बिक्री रोक्न माग गरिएको रिटलाई हेर्दाहेर्दैमा राखेको छ। सोमबार न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए।
रिट हेर्दाहेर्दैमा राख्नुको अर्थ अन्तिम किनारा नलाग्दासम्म निरन्तर सुनुवाइ हुनु हो। प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले २०८० मंसिर २२ गते एनसेलको शेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले यसमा परमादेश समेत माग गरेका थिए।
एनसेल एक्जियाटा लिमिटेड, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय/आन्तरिक राजस्व विभाग ठूला करदाता कार्यालयलाई विपक्षी बनाएर सांसद सिंहले रिट दायर गरेका थिए।
मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।
सात वर्षअघि एक खर्ब ४३ अर्ब रूपैयाँ खरिद गरिएको शेयर थोरै रकममा बिक्री गरेको, नेपाल बाहिर कारोबार गरेको, नियामकीय निकायलाई जानकारी नगराइएको भन्दै विवादमा तानिएको थियो।