काठमाडौं — नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषय वस्तु नरहेको बताएका छन् ।
शनिवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बैठकमा बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै नभइ राष्ट्रिय विषय भएकाले सबै राजनीतिक दलहरु मिलेर अघि बढाउन आवश्यक रहेको बताए ।
उनले बैठकमा संसदलाई बढी भन्दा बढी बिजनेस दिनुपर्ने कुरामा छलफल भएको बताए । उनले आइतबार बस्ने संसदको बैठकमा बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, संवैधानिक परिषद्को कार्यविधि सम्बन्धी विधेयक प्रश्तुत हुने बताए ।













