News Griha :: न्यूजगृह
शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग

काठमाडौं— माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेको छ ।

हिस्टुनको प्रतिनिधिमण्डलले बुधबार (२० वैशाख) मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेको हो ।

त्यसैगरी उच्च माध्यमिक शिक्षा ऐन २०४६ बमोजिम २०४९ देखि सञ्चालनमा आएको कक्षा ११ र १२ मा तीन दशक बितिसक्दा राज्यबाट एक जना पनि स्थायी शिक्षकको व्यवस्था हुन नसकेको हिस्टुनका नवनिर्वाचित अध्यक्ष टीकाप्रसाद न्यौपानले बताए ।

२०४९ देखि कार्यरत कतिपय शिक्षकहरू उमेर हदका कारण घर फर्केको र कतिपय घर फर्कनुपर्ने अवस्थामा रहँदा पनि सरकार मुकदर्शक भएर बसेकोले सकारको ध्यानाकर्षण गराइएको अध्यक्ष न्यौपानले बताए ।

‘हिस्टुन यस्तै साविक उच्च माध्यमिक तह कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरूको साझा छाता संगठन हो,’ हिस्टुनका नवनिर्वाचित महासचिव शंकर तिवारीले भने,‘शिक्षकको पेशागत हकहित र सुनिश्चिताका लागि हिस्टुन बाध्यात्मक अवस्थाले निरन्तर संघर्ष र आन्दोलनमा छ र हाम्रो आन्दोलन जारी नै रहनेछ ।’

विगतका नजिरलाई हेर्दै सामाजिक न्याय र प्राकृतिक न्यायको सिद्धान्तका आधारमा अब बन्दै गरेको संघीय शिक्षा ऐन र शिक्षा नियमावलीमा कानुन बनाएर साविक उच्च माध्यमिक तह कक्षा ११ र १२ मा कार्यरत शिक्षकको व्यस्थापनका लागि शिक्षा मन्त्रालयको ध्यानाकर्षण पत्र पेश गरेको उनले जनाए ।

माग पूरा नभएमा कक्षा ११ र १२ को परीक्षा हुन दिने र कापी जाँच नगर्नेलगायतका आन्दोलनको कार्यक्रम गर्ने चेतावनी उनीहरूले दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १९:४२
Weather Update