काठमाडौं— भारतीय गुप्तचर एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालिसिस विङ)का भूतपूर्व एजेन्ट लक्की विष्टले एक अन्तर्वार्तामा केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् । नवभारत टाइम्ससँगको अन्तर्वार्तामा उनले नेपालमा सरकार परिवर्तन हुने दाबी गरेका छन् ।
नवभारत टाइम्सका पत्रकार विनीत त्रिपाठीसँगको अन्तर्वार्तामा उनले एक महिनाभित्र नेपालमा सरकार परिवर्तन हुने दाबी गरेका छन् ।
'आज १२ तारिख हो । तपाईंलाई अचम्म लाग्ला, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्नेवाला छ,' उनी अन्तर्वार्तामा दाबी गर्छन् ।
उनी पत्रकारलाई आफूले भनेको कुरा नोट गर्न पनि आग्रह गर्छन् । 'तपाईं नोट गर्नुहोस्, तपाईंलाई निकै छिटो १० दिन, १५ दिनभित्र खबर आउँछ, नेपालको सरकार ढल्दै छ । जुन दुई महिना पहिले बनेको थियो ।'
यसपछि पत्रकार त्रिपाठी प्रश्न गर्छन्, 'यसको पछाडि को छ ? एजेन्सी ।'
विष्टले अन्तर्वार्तामा विश्वभरमा हुने सबै घटनाको पछाडि गुप्तचर एजेन्सी हुने दाबी गर्छन् । श्रीलंका, पाकिस्तान र बंगलादेशको पछिल्लो घटनाक्रममा गुप्तचर एजेन्सीको हात रहेका उनी अन्तर्वार्तामा दाबी गर्छन् ।
त्रिपाठीसँगको अन्तर्वार्तामा उनी अगाडि भन्छन्, 'म १२ तारिखमा यो भन्दै छु ,यो कुरा दुनियाँको कुनै न्यूज पेपरमा आएको छैन, अहिलेसम्म । २०, १५, २५ दिन, एक महिनामा नेपालको सरकार ढल्दै छ ।'
विष्टले अन्तर्वार्तामा नेपाल विश्वभरका गुप्तचर एजेन्सीको खेल्ने ठाउँ भएको पनि दाबी गरेका छन् । ‘रअ’ एजेन्ट हुँदा नेपाल र बंगलादेशमा अपरेसन गरेको पनि उनले दाबी गरेका छन् । उनी अन्तर्वार्तामा भन्छन्, 'मलाई सबैभन्दा नेपाल खतरनाक लाग्छ ।'
उनले नेपालमा विश्वभरका गुप्तचर एजेन्सी सक्रिय हुने र तिनको सहभागिता अत्यधिक हुने दाबी गरेका छन् । उनी भन्छन्, 'नेपालमा जति मान्छे छन्, त्यसभन्दा बढी एजेन्ट छन् ।'
उनले अन्तर्वार्तामा आईएसएसको शक्तिशाली मान्छेलाई नेपाल बोलाएर नेपालबाट भारत लगिएको पनि खुलासा गरेका छन् । तर, यो कहिलेको घटना हो भनेर उनले खुलाएका छैनन् । पाकिस्तानबाट आईसएसआईका मान्छेलाई नेपाल ल्याएर नेपालबाट भारत लगिएको अपरेसनको नाम ‘अपरेसन क्यासिनो’ रहेको उनको दाबी छ ।
उनी भारतका लागि सबैभन्दा खतरनाक देश नेपाल भएको दाबी गर्छन् । नेपालमा विश्वभरका गुप्तचर एजेन्सीको चलखेल हुने हुँदा भारतका लागि खतरा भएको उनको दाबी छ ।
उनी नेशनल सेक्युरिटी ग्रुप (एनएसजी)का कमान्डो पनि हुन् । उनी यस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षा गार्ड पनि रहिसकेका छन् ।
सन् २०११ मा उनीमाथि दुई जनाको हत्या अभियोग लागेको थियो । यही अभियोगमा उनी तीन वर्ष जेल बसेका थिए । उनीमाथि लेखिएको एउटा किताब पनि छ, ‘हिटम्यान द रियल स्टोरी अफ एजेन्ट लिमा ।’ यस किताबमा उनले आफू सामेल भएका अपरेसनबारे लेखेका छन् ।
यसअघि उनले राज शामानीसँगको एक अन्तर्वार्तामा नामै नलिई नेपालका सञ्चार उद्यमी जमिम साहको हत्या आफूले गरेको दाबी गरेका छन् । तर, सबै विवरण साहको हत्यासँग मेल खाने छन् ।
२०६६ को माघमा जमिम साहको हत्या भएको थियो । लाजिम्पाटस्थित फ्रान्सेली दूतावास अगाडिको सडकमा उनको हत्या भएको थियो ।
भारतको उत्तराखण्डका लक्ष्मण सिंह विष्ट लक्की विष्टका नामले परिचित छन् । उनलाई ‘हिटम्यान’ ‘लिमा’ पनि भन्ने गरिन्छ ।