काठमाडौं— नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भारत भ्रमण सकेर काठमाडौं फर्किएका छन्। मसिर २६ गते भारत पुगेका उनी आइतबार पाँच दिने भ्रमण सकेर काठमाडौं आइपुगेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उनलाई बालध्यक्ष रथी प्रदीपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। मंसिर २७ गते प्रधान सेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन्।
भ्रमणकै क्रममा प्रधान सेनापति सिग्देल भारतको देहरादुनस्थित इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रविण पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटहरूमध्ये सर्वोत्कृष्ट विदेशी शिक्षार्थीको रूपमा सम्मानित भएका थिए।
त्यस्तै प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।













