News Griha :: न्यूजगृह
रविविरुद्धको अनुसन्धान प्रतिवेदन तयार, भोलि पेस गरिने

काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ । 

सोमबार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘सोमबार प्रतिवेदन जान्छ ।’

अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । उनले भने, ‘मुद्दाको टिमले प्रतिवेदनमा काम गरिरहेको छ ।’

उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी तथा किर्ते र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै छ । उनीविरुद्ध सम्बद्ध कसुरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुनेछ । 

संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको छ । अपचलनमा संलग्न आरोपमा लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, लिला पछाइ, रामबहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका हुन् ।

पूर्व डीआईजी जोशी असोज ६ मा पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा ९० दिनभित्र उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ । जोशी पक्राउ परेको दिनबाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने बाध्यता सरकारसँग छ ।

सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिको छानबिन निष्कर्ष छ । सूर्यदर्शनबाट मात्रै गोरखा मिडियामा ५ करोड ५८ लाख ल्याएको भेटिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १६:४०
Weather Update