News Griha :: न्यूजगृह
काठमाडौंमा शनिबारको तुलनामा आज कम चिसो, देशभरको मौसम कस्तो रहला?

काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहनेछ ।

सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

यसैबीच, काठमाडौं उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ। हिजो यहाँको न्यूनतम तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ । 

आज उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज सूर्योदय ६:४७ तथा सूर्यास्त ५:११ मा हुनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ०६:४०
Weather Update