News Griha :: न्यूजगृह
बुटवलमा जीप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

काठमाडौं— बुटवलमा बलेरो जीप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा मृत्यु बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपाने छन् ।

गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जीप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पुल क्रस गरिसकेपछिको मोडमा जीप दुर्घटनामा परेको उनले बताए । उक्त जीप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०९:५७
Weather Update