News Griha :: न्यूजगृह
३५ वर्षपछि टीकापुर विमानस्थल सञ्चालनमा, तारा एअरले व्यवसायिक उडान गर्ने

काठमाडौं— २०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल मंसिर ३० गतेदेखि नियमित सञ्चालनमा आउने भएको छ। टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः सञ्चालनमा आउन लागेको हो यसका लागि नगरपालिकाले तारा एअर र यती एअरलाइन्ससँग सहकार्य र समन्वय गरेको छ।

टीकापुर नगरपालिकाकाका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उडानका लागि तारा एअरसँग नगरपालिकाले न्यूनतम १५ सिटको सुनिश्चितता सहित सहमति गरेको र यो सुनिश्चितताले आगामी दिनमा व्यवसायिक उडान नियमित गर्न सहज हुने जानकारी दिए।

विमानस्थलमा केही समय अगाडि नेपाल एअरलाइन्सले परीक्षण उडान गरिसकेको र तारा एअरले एउटा व्यवसायिक उडान गरिसकेको छ। हाल आइतबार र बिहीबारका लागि उडान तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

यात्रुको माग बढेमा उडान थपिनेछ। हाललाई काठमाडौंसम्मको भाडा नौ हजार र नेपालगञ्जदेखि टीकापुरसम्मको एकतर्फी भाडा चार हजार पाँच सय रहेको छ। तारा एअरमार्फत टीकापुर-नेपालगञ्ज-टीकापुर उडान हुने र यती एअरलाइन्सको नियमित उडानबाट काठमाडौं आवतजावत गर्ने तालिका मिलाइएको प्रवक्ता बर्तौलाले बताए।

यात्रुको सहजताका लागि तारा एअरले नेपालगञ्जबाट १२:३० बजे र टीकापुरबाट नेपालगञ्जका लागि १:२० बजेमा उडान गर्नेछ। यतीको काठमाडौं-नेपालगञ्जको उडान तालिका बिहान १० बजे र नेपालगञ्ज-काठमाण्डौंको उडान तालिका दिँउसो २:५ बजे रहेको छ।

तारा एअरले हाल ३ वटा ट्विनअटर वायुयानमार्फत लुक्ला, फाप्लु, रामेछाप, जोमसोम, डोल्पा, सिमिकोट, बाजुरा, जुम्ला लगायतका विमानस्थलहरूमा नियमित तथा चार्टर उडान गर्दै आएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १८:०२
Weather Update