News Griha :: न्यूजगृह
वामदेवले मागे प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा, ओलीले के दिए जवाफ?
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार काठमाडौंमा आयोजित राजनीतिमा प्रतिनिधित्व र पहुँच अभिवृद्धिको लागि आदिवासी जनजाति महिला–राष्ट्रिय महिला भेला, २०८१लाई सम्बोधन गर्दै ।

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार वामदेव गौतमसँगको फोनमा भएको कुराकानीबारे सुनाए। एमाले अध्यक्षसमेत रहेका ओली आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलामा सहभागी थिए। सोही मञ्चबाट बोल्दै उनले वामदेव गौतमसँग शुक्रबार नै भएको कुराकानीबारे केही कुरा सुनाएका हुन्।

ओलीको मोबाइलमा फोन गरेर गौतमले कुनै एक भिडिओ हेरेका आधारमा प्रधानमन्त्री र एमाले अध्यक्ष पदबाट राजीनामा मागेका थिए।

‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो। अनि के भन्नु भयो भने मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो। तर म चुप लागेँ। अब म बूढो पनि भइसकेँ, जेसुकै भए पनि मलाई केही छैन त्यसकारण म कुरा भन्दैछु भनेर मेरै (ओलीकै) स्वरमा छ, अब केपी ओलीले प्रधानमन्त्रीबाट र पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ भन्देऊ तिम्रो ठूलोबालाई भनेर। कुराचाहिँ मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश (स्वकीय सचिव) ठानेर कुरा गर्दै हुनुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने।

गौतमको नम्बरबाट फोन आएको देखेपछि राजेश बज्राचार्यबाट लिएर आफूले फोन उठाएको पनि ओलीको भनाइ छ।

‘कमरेड के छ हालखबर भनेँ, ठिकै छ भन्नुभयो, कुरा गर्दै गइयो। अन्तिममा त तिम्रो ठूलोबालाई भन्देऊ- प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्न भनेर। यस्तो अपराध गरेर बस्न पाइन्छ भनेर वामदेवजी एकछिन पड्किनुभयो,’ ओलीले भने, ‘हस् हजुर भनेर भनेँ मैले। के बहस गरिराख्नु, उहाँलाई समेत भ्रम पर्ने गरी कसैले भिडिओ बनाएछ।’

वामदेव र आफू नङ र मासुजस्तै गरी एउटै यात्रामा अघि बढे पनि उनलाई पनि भ्रम हुने गरी कसैले भिडिओ बनाएको र त्यो भिडिओ सुनेर वामदेवले फोन गरेको ओलीको भनाइ थियो।

‘युट्युबमा मेरो भनिएको आवाज चिन्नुभयो, म उहाँसँग मोबाइलमा कुरा गरिरहेको छु त्योचाहिँ चिन्नु भएन,’ ओलीले भने, ‘तर त्यो भिडिओ मेरै आवाजमा कसैले बनायो होला, एआईको जमाना छ। कांग्रेस र हाम्रोबीचमा लडाइँ लगाउने हिसाबले।’

प्रधानमन्त्री ओलीले बिहीबार कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालयको बैठकको प्रसङ्ग पनि निकाले।

‘त्यहाँ मप्रति एउटा प्रश्न पनि लक्षित थिएन, सबैले उपकुलपतिमाथि प्रश्न उठाइरहनुभएको थियो। तर प्रचार के भनेर गर्छ भने भिडिओमा सबै मलाई देखाउँछ, केपी ओलीले गर्दा विश्वविद्यालय ध्वस्त पार्‍यो, सिनेटमा यत्रो आक्रोश भनेर,’ उनले भने।

यसपछि उनले हालै झापा गएको बेलाको प्रसङ्ग पनि निकाले। झापा जाँदा प्रधानमन्त्री ओली भागेर सेनाको व्यारेकमा गएर ज्यान जोगायो भनेर खबर फैलाइएको पनि उनको भनाइ थियो।

‘कहाँको कार्यक्रमबाट भागेर कहाँको ब्यारेकमा गएछु? यस्ता कुप्रचार गर्ने छन्,’ ओलीले भने, ‘वामदेवजीले पनि फोन गर्नुभयो, यस्तो बोलेर प्रधानमन्त्री र अध्यक्षमा बस्ने भनेर। उहाँलाई पनि भ्रम पर्‍यो।’ 

देशमा जुन दिन माओवादी पलायो त्यही दिनदेखि जाली, फटाहा झुट र बेमान तथा कुप्रचारको काम भएको प्रधानमन्त्री ओलीको आरोप छ।

‘यो माओवादी देशमा जुन दिन पलायो, त्यहाँबाट जाली, फटाहा, झुट, बेइमान, मानिसहरूलाई दु:ख दिने, कुप्रचार गर्ने यो सबै काम माओवादीको नेतृत्वमा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘नराम्रा कामहरू जति प्रचण्ड महोदयको नेतृत्वमा भइरहेको छ, उहाँहरूको गिरोह एमाले र मेराविरूद्ध सक्रिय छ।’

झुटलाई पराजित गरेर अघि बढ्ने पनि उनले बताए।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १७:१७
Weather Update