
काठमाडौं— रौतहट र चितवनमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
रौतहटको गौर नगरपालिका–६ सवगडास्थित सडकमा बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल र प्र२–०३–०१३ प ६६५२ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल चालक गौर नगरपालिका–६ सवगडा बस्ने २२ वर्षीय सुरज साहको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका प्र२–०३–०१३ प ६६५२ नम्बरको मोटरसाइकल चालकको सर्वोत्तम अस्पताल पर्सामा उपचार भइरहेको छ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका–२९ दासढुङ्गास्थित सडकमा बाप्र०३–००१ ख २५२४ नम्बरको ट्रक र बाप्र०१–०१३ च ०११३ नम्बरको बोलेरो एक आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा बलेरोमा सवार हाल वतन नखुलेका ३५ वर्षीय भीम कटुवालको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बोलेरो चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।