
ढोरपाटन — बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका लगायतका पालिकाले सरकारी स्कुलहरुलाई मर्ज गर्ने कार्यक्रमलाई तीव्रता दिएका छन् । बडिगाड गाउँपालिकाले यसभन्दा अगाडि चार विद्यालय मर्ज गरेको छ । २० जनाभन्दा कम विद्यार्थी भएका विद्यालय गाभेर पठनपाठन सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पूर्णबहादुर घर्तीले जानकारी दिए ।
यस वर्ष करिब चार विद्यालय समायोजन गर्ने चरणमा रहेको उनको भनाइ छ । घर्तीले भन्छिन्, ‘विद्यार्थी कम भएका विद्यालयलाई नजिकको सँग ‘मर्ज’ गर्ने भएका छौँ, बजार क्षेत्रका विद्यालयमा विद्यार्थी निकै बढिरहेका छन्, अहिले समस्या भनेको गाउँका विद्यालयमा हो, गाउँबाट सबै मान्छेहरु सेवा सुविधा खोज्दै बजार झर्ने गरेका छन्, त्यसको प्रत्येक्ष असर गाउँका विद्यालयमा परेको छ, यहाँका केही विद्यालयमा भने विद्यार्थी बढी छन् ।’
गलकोट नगरपालिकाले दर्जन बढी विद्यालय समायोजन गर्ने भएको छ । नगरपालिकाले समायोजनका लागि कार्यविधि बनाएको नगर शिक्षा अधिकृत शिव खड्काले जानकारी दिए । नगरपालिकाले कक्षा १–३ मा १५ जना, कक्षा १–५ मा २५ जना, कक्षा ६–८ मा २१ जना, कक्षा ९–१० मा २५ जना र ११–१२ मा २५ जना विद्यार्थी नभएका विद्यालयलाई समायोजन गरिने खड्काको भनाइ छ । उनका अनुसार विद्यार्थी कम भएका करिब १५ वटा विद्यालय समायोजन गर्ने अवस्थामा रहेका छन् ।
काठेखोला गाउँपालिकामा दुई विद्यालय समायोजन गर्ने स्थितिमा रहेका छन् । बागलुङ नगरपालिकामा पनि धेरै विद्यालय समायोजन गर्नुपर्ने देखिएको छ । नगरपालिकाले विद्यालय समायोजनसम्बन्धी नीति बनाएर पठनपाठनलाई प्रभावकारी बनाउने जनाएको छ ।
नगरपालिकाका शिक्षा शाखा अधिकारी धनप्रसाद पोखरेलले बजारमा भन्दा बढी समस्या गाउँका विद्यालयमा भएको बताए । भन्छन्, ‘गाउँमा साना कक्षामा विद्यार्थी छैनन्, बजारमा माथिल्लो तहमा पढ्ने विद्यार्थी छैनन्, ११/१२ पास ग¥यो भने विद्यार्थी विदेश हिँडी हाल्छन्, यो बागलुङको मात्रै समस्या होइन देशभर यस्तै छ, नगरपालिकाले विद्यार्थीलाई मर्का नपर्ने गरी विद्यालय समायोजन गर्ने छ, थोरै विद्यार्थी भएको विद्यालयमा पठनपाठन गाह्रो नै हुन्छ ।’
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएपछि विद्यार्थीको आकर्षण निजी विद्यालयतर्फ बढिरहेको छ । निजी विद्यालयमा तल्लो तहदेखि नै विद्यार्थीको चाप देखिन्छ । शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले शिक्षाको गुणस्तर वृद्धि गर्न नसकेसम्म विद्यार्थी बढाउन नसकिने बताए । सामुदायिक विद्यालय अब भौतिक पूर्वाधारमा कमजोर नभएको भन्दै गुणस्तर बढाउनतर्फ लाग्नुपर्नेमा प्रमुख उपाध्यायले जोड दिए ।
‘सामुदायिक विद्यालयमा गुणस्तरीय पढाइ नभएको होइन, राम्रो पढाइ हुन्छ, जहाँका समुदाय, अभिभावक, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक सक्रिय हुन्छन् त्यो विद्यालयमा निजीमा भन्दा राम्रो पढाइ भएको छ, उपलब्धि पनि उस्तै छ’, उपाध्यायले भने, ‘धेरै ठाउँमा सामुदायिक विद्यालयप्रति धेरैले चासो दिँदैनन्, गाउँका विद्यालयलाई राम्रो बनाउने विद्यार्थी टिकाउने हो भने समुदाय पनि जिम्मेवार हुन जरुरी देखिन्छ ।’
उनले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या घट्नुको मुख्य कारण बसाइँसराइ भएको बताउँछन् । पछिल्लो समय मानिस विलासिता खोज्दै सहज बजार झर्ने र बालबालिकालाई पनि सँगै लैजाने गर्दा गाउँका विद्यालयमा विद्यार्थीको अभाव हुन थालेको उनको बुझाइ छ । ग्रामीण क्षेत्र सबै प्रकारका विकासले जोडिए विद्यार्थी बढाउन सकिने उपाध्यायले बताए ।
जिल्लामा अहिले पाँच सय १४ सामुदायिक र ५९ निजी गरी पाँच सय ७३ विद्यालय सञ्चालनमा छन् । शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका अनुसार ६२ हजार तीन सय २१ जना सामुदायिक र ११ हजार तीन सय ७० जना गरी ७४ हजार तीन सय ५७ जना विद्यार्थी अध्ययनरत छन् । जिल्लाभर ७४ हजार तीन सय ५७ विद्यार्थी रहेका छन् । जसमा ३५ हजार नौ सय ८० छात्रा र ३८ हजार तीन सय ७३ जना छात्र अध्ययनरत रहेका छन् ।
जिल्लाभर १४ दशमलव आठ प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययन गरिरहेका छन् । सामुदायिकतर्फ छात्र ३१ हजार आठ सय ९७ जना र छात्रा ३१ हजार चार सय २० जना छन् भने निजी विद्यालयमा छात्र छ हजार चार सय ७६ र छात्रा चार हजार पाँच सय ६० जना अध्ययन गरिरहेका छन् ।
पछिल्लो समय सरकारी स्कुलमा पक्की भवन छन् । खेल मैदान र अन्य पूर्वाधार छन् । ती केही संघ—प्रदेश सरकारले बनाइदिएका हुन् भने धेरै स्थानीय सरकारले । तर, अहिले ती भवनका कक्षा कोठामा बस्ने विद्यार्थी घट्दै गएका छन् । ती मैदानहरुमा खेल्नेहरु घट्दै गएका छन् । सरकारी स्कुलका पक्की भवन छोडेर विद्यार्थीहरु बाँसले बारेको निजी स्कुलको भवनतिर शिक्षा आर्जन गर्न गइरहेका छन् । सरकारी विद्यालयको गुणस्तरमाथि प्रश्न उठाउँदै ऋणधन गरेरै निजी स्कुलमा छोराछोरी पढाउन थालेका छन्, अभिभावकहरुले ।













