News Griha :: न्यूजगृह
परराष्ट्र मन्त्री पुस ४ गते दिल्ली जाने, प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुने सम्भावना
फाइल तस्बिर।

काठमाडौं— परराष्ट्रमन्त्री आरजु राणा देउवा पुस ४ गते भारतको नयाँ दिल्ली जाने भएकी छन्। पुस ३ गते जर्मनीमा उच्चस्तरीय भेटवार्ता सकेपछि उनी उतैबाट भारत जान लागेकी हुन्।

मन्त्री राणा अहिले युरोपको भ्रमणमा छन्। पुस ५ र ६ गते दिल्लीमा हुने इन्डो-नेपाल इकोनोमिक कन्फ्रेन्समा सहभागी हुन राणा दिल्ली जान लागेकी हुन्।

दिल्ली भ्रमणका बेला मन्त्री राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने तयारी गरेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दियो।

'भारतका विदेश मन्त्रीसँगको भेटको समय तय भइसकेको छैन,' स्रोतले भन्यो, 'मन्त्रीज्यूले भारतका विदेशमन्त्रीसँग भेटको प्रयास गरिरहनुभएको छ। भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीक‍ो भारत भ्रमणको मिति तय गर्ने विषयमा छलफल हुनेछ।'

स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका लागि पुस २५ गते निर्धारण गर्ने गरी छलफल भइरहेको छ।

परराष्ट्र मन्त्रीको दिल्ली भ्रमणमा थप छलफल हुने मन्त्रालयका एक उच्च अधिकारीले बताए। यसअघि प्रधानमन्त्री ओलीले आफूले छिट्टै भारत भ्रमण गर्ने बताएका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १८:०५
Weather Update