News Griha :: न्यूजगृह
जे भए पनि मलाई गाली नगरी चित्त नबुझ्ने तत्वहरू छन्: प्रधानमन्त्री ओली
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा ओली

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताएका छन्।

त्रिविको नीति अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने बताए।

विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्नुपर्ने कुलपति ओलीको भनाइ छ।

‘शिक्षा क्षेत्र नियम, कानून र प्रक्रियाभित्र चल्नुपर्छ। त्रिविको सर्वोच्च संस्था भनेको सिनेट नै हो। नीति, कार्यक्रम, बजेट यसैले पास गर्दछ। स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको मेरिटोक्रेसी हुनुपर्‍यो,’ कुलपति ओलीले भने।

कुलपतिले हस्तक्षेप गरेको चर्चा हुने गरेको प्रसंग उप्काउँदै उनले विश्वविद्यालयलाई हस्तक्षेप नगरेको बताए।

‘म सधैं देखिरहेको छु, कुलपतिले हस्तक्षेप गर्‍यो। मेरोविरुद्ध त यसै पनि कहीँ पहिरो गयो भने प्रधानमन्त्री नै यस्तो छ पहिरो किन जाँदैन। वर्षा बाढी गयो भने प्रधानमन्त्री नै यस्तो छ बाढी किन जाँदैन। कहीँ मान्छे हार्टअट्याक भयो भने प्रधानमन्त्री नै यस्तो छ, हार्टअट्याक किन हुँदैन। जे सुकै भए पनि प्रधानमन्त्रीलाई एउटा गाली नगरीकन त चित्त नबुझ्ने तत्वहरू छन्,’ ओलीले भने, ‘मेरो कुनै हस्तक्षेप होइन। हामी सबैले साना कुरामा नल्झिएर विश्वविद्यालयलाई मजबुत बनाउनु पर्छ।’

उनले पुस ७ गतेको विश्वविद्यालय सिनेटमा निमित्त डिनसहित उपस्थित हुन पनि निर्देशन दिएका छन्। विश्वविद्यालयले नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पास गरेको छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १८:०१
Weather Update