
काठमाडौं— जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर ३ कटकेतर्फ जाँदै गरेको ग३च ९४४५ नम्बरको बोलेरो जीप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो।
दुर्घटनामा परि नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले शुक्रबार बिहान पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाइतेहरुलाई ल्याएको थियो। अस्पतालले पाँच जनालाई मृत घोषणा गरेको जाजरकोट प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।
दुर्घटनामा दुई जना घइते छन्। नलगाड नगरपालिका–३ का १९ वर्षीय जनक थापा र २१ बर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएका डीएसपी पाण्डेले जानकारी दिए।
डबल क्याप बोलेरो जीप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ।