News Griha :: न्यूजगृह
सरकारले रोजगार दिने होइन‚ वातावरण बनाइदिने मात्र हो : मन्त्री भण्डारी

काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीले सरकारले रोजगार दिने नभई रोजगारीको वातावरण मात्रै निर्माण गरिदिने र रोजगारी निजी क्षेत्रले दिने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले मुलुकभित्रका रोजगारका सम्भावना खोजेर प्रबर्द्धन गर्ने, अघि बढाउने काममा आफूहरू लागिपरेको बताए। उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संरचनाको चरणमा रहेको उल्लेख गरे। मन्त्रालयको संरचना निर्माणका लागि ओएनएमको प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको जानकारी दिए।

उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको मात्रै काम गरेको जस्तो देखिएकाले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको बताए। उनले आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमा रोजगारीको वातावरण बनाइने दावी गरेका छन्।

मन्त्री भण्डारीले भने, ‘सरकारले रोजगारी दिने होइन। सरकारले बाटो बनाइदिने हो। रोजगार दिने भनेको रोजगारदाताले हो, निजी क्षेत्रले हो।’

मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट सीप सिकेर आएका व्यक्ति नेपालका लागि उपयुक्त जनशक्ति भएको बताए। उनले अहिलेको प्रविधि प्रयोग गरेर सबै सेवा फेसलेस र पेपरलेस बनाउने काममा अघि बढिरहेको बताए।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १९:३३
Weather Update