
काठमाडौं— सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ।
गत सोमबार वीरगञ्ज पुर्याइएका लामिछानेलाई सिमरा विमानस्थलबाट हवाई मार्ग हुँदै पोखरा लगिएको हो। म्याद थपका लागि भोलि अदालतमा उपस्थित गराइने छ।
कास्कीका एसपी श्यामबाबु ओलियाले भने, ‘भोलि म्याद लिन अदालतमा उपस्थित गराउँछौँ।’
वीरगञ्ज लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग पर्सा सरकारी वकिलको कार्यालयमा करिब ४ घण्टा बयान लिइएको थियो। सहकारीको रकम हिनामिना प्रकरणमा कात्तिक २ देखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वीरगञ्ज लगिएको थियो।
पोखराको सूर्यदर्शनसँगै रूपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ।
लामिछानेबारे अनुसन्धान सकेर प्रहरी अनुसन्धान प्रतिवेदन तयारीमा जुटेको छ। एकदुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ। उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने भएको छ ।