-1732007907.jpg)
काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले बताए।
साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अभियोगपत्र दायर गरेको हो।
सरकारी वकिलले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदाबी लिएको छ। दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदाबी गरिएको स्रेस्तेदार शर्माले जानकारी दिए।
‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटक-पटक गरेमा त्यस्तो कसुर बापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ,’ उपदफा २ मा भनिएको छ।
डेढी सजाय भन्नाले पूरा सजायमा फेरि आधा सजाय थप गर्नु हो। अर्थात पाँच वर्ष कैद भएमा डेढी सजाय लागू हुँदा थप साढे २ वर्ष सजाय हुनसक्छ। यसो भएमा प्रसाईंलाई सात वर्षसम्म सजाय हुन सक्छ।
मङ्सिर ४ मा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईँमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले सुरुमा उनलाई साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई उनले नै धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईं निकट हरिचन्द्र फुँयालले सो कामका लागि आफूले ५ लाख लिएको बयान दिएका छन्।
उनले भनेका छन्, ‘धम्क्याउने प्रयोजनको लागि मलाई दुर्गा प्रसाईंले ५ लाख दिएका हुन्।’ तर, प्रसाईंले बयानमा सो कुरा अस्वीकार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन्।