News Griha :: न्यूजगृह
रवि लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा, आजै प्रतिवेदन बुझाउने तयारी

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई वीरगञ्जबाट बुधबार कास्की नै फर्काउने तयारी गरिएको छ। कास्कीमा उनीविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।

पुस ५ गते अघि नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सरकारी वकिल कार्यालय कास्कीले गरेको छ। रवि र छविलाल जोशीविरुद्ध पूरक अभियोगपत्र पेस हुने छ। 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत कात्तिक २ मा पक्राउ परेका उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान भएको छ।

कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा उनलाई रूपन्देही, काठमाडौं र चितवनमा बयानका लागि लगिएको थियो। त्यहाँ पनि सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप उनीमाथि छ।

बुटवलको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा सहकारीबाट रकम लगिएको छानबिनबाट देखिएको थियो। 

लामिछानेलाई रूपन्देहीमा ३ दिन, काठमाडौंमा ४ दिन र चितवनमा २ दिन अनुसन्धानका लागि राखिएको थियो। यसअघि उनलाई पहिलोपटक ६, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौथोपटक १३ दिन, पाँचौँपल्ट १५ र छैटौँपल्ट ४ दिन म्याद थप गरिएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०८:३१
Weather Update