वीरगञ्ज— सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानका लागि वीरगञ्ज ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग मंगलबार पर्सा सरकारी वकिलको कार्यालयमा करिब ४ घण्टा बयान लिइएको छ।
सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिएका हुन् । बयानको क्रममा लामिछानेसँग ५४ वटा प्रश्न सोधिएको निरौलाले जनाए। सरकारी वकिल कार्यालय स्रोतका अनुसार कुनैकुनै कुराको लामिछानेले ‘कन्फेस’ गरेका छन्।
‘पर्सामा रवि लामिछानेको बयान सकिएको छ,’ मुख्य न्यायाधिवक्ता निरौलाले भने, ‘बयानमा करिब ५४ वटा प्रश्न सोधिएका थिए।’ बयान सकिएपछि पूर्वगृहमन्त्री रहेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। सरकारी वकिल कार्यालयमा बयान भइरहँदा रास्वपाका नेता तथा कार्यकर्ताले वीरगञ्जमा विरोध प्रदर्शन गरेका थिए।
सहकारीको रकम हिनामिना प्रकरणमा कात्तिक २ देखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वीरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि सोमबार साँझ वीरगञ्ज ल्याइएको थियो। पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार बुधबार म्याद सकिने हुनाले त्यो भन्दा अगाडि नै लामिछानेलाई पोखरा पठाइने छ।
सानो पाइला सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि सोमबार बिहान वीरगञ्ज ल्याइएका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई भने सोमबार नै बयान सकाएर मंगलबार बिहान स्थलमार्गबाट पोखरा फिर्ता पठाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लम्सालले जनाए। लामिछाने, जोशी र खनाललाई पक्राउ गर्न पर्सा अदालतले गत बुधबार अनुमति दिएको थियो । लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला सानो पाइला सहकारीबाट करिब साढे ८ करोड रुपैयाँ गएको अनुसन्धानमा देखिएको छ।
सानोपाइला सहकारीबाट जोशीको नाममा एक करोड ८६ लाख ९४ हजार रुपैयाँ गएको अनुसन्धानमा देखिएको छ। लामिछाने गोर्खा मिडियामा आबद्ध रहेकै बेला सानो पाइला सहकारीबाट ८ करोड ५८ लाख रुपैयाँ सारिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। यसबाहेक सानो पाइला सहकारीबाट ९३ करोड ६२ लाख ९७ हजार रुपैयाँ गैरकानुनी रूपले कार्यक्षेत्रबाहिर ऋण प्रवाह गरिएको छ।
२०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्म सानो पाइला सहकारीबाट गोर्खा मिडियामा रकम सारिएको हो। संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने २०७७ माघ १ देखि २०७९ असार १ सम्म गोर्खा मिडिया प्रालिमा प्रबन्धक निर्देशकको भूमिकामा थिए।
०७८ साउन १९ मा एकैदिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको प्रतिवेदनमा उल्लेख छ। गोर्खा मिडियाका उपाध्यक्ष छविलाल जोशीको घरबाट बरामद भएको हार्ड डिस्कमा सानो पाइला सहकारीबाट पनि रकम सिधै गोर्खा मिडियामा सारिएको फेला परेको हो।
प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्रबाबु (जीबी) राईलगायत ११ जना हालसम्म फरार छन्।
सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा जिल्ला अदालत पर्साबाट न्यायीक परीक्षण हुँदा ठहरेबमोजिम हुने गरी हाललाई एक करोड १० लाख धरौटीमा रिहा भइन्। यसैगरी सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।