News Griha :: न्यूजगृह
सिरियाका सैन्य क्षेत्रमा इजरायलको हवाई आक्रमण

काठमाडौं — इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानबाट सिरियाको राजधानी दमास्कससहित केही विशेष क्षेत्रमा दर्जनौँ हवाई आक्रमण भएको छ।

बेलायतको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार १०० भन्दा बढी सैन्य क्षेत्रमा आक्रमण गरिएको छ। तीमध्ये एक रासायनिक हतियार उत्पादनसँग सम्बन्धित अनुसन्धान केन्द्र पनि समावेश छ।

सिरिया हायात तहरिर अल-शाम विद्रोही समूहको नियन्त्रणमा गएपछि उनीहरूको हातमा रासायनिक हतियार नपुगोस् भन्ने उद्देश्यले यस्तो आक्रमण गरिएको इजरायलले दाबी गरेको छ।

सिरियामा रासायनिक हतियारको जोखिम बढिरहेका वेला, संयुक्त राष्ट्र संघको रासायनिक हतियार निगरानी संगठन ओपीसीडब्लूले सिरियाली अधिकारीलाई रासायनिक हतियारको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ। साथै इजरायली सेनाले गोलान हाइट्सको स्वतन्त्र क्षेत्र अस्थायी रुपमा कब्जा गरेको घोषणा गरेको छ। 

यो क्षेत्रको नियन्त्रणलाई प्रधानमन्त्री नेतान्याहूले ऐतिहासिक कदम भनेका छन्। इजरायलका रक्षामन्त्री इजरायल क्याट्जले आईडीएफले सिरियाको रणनीतिक हतियार नष्ट गर्ने गरी आक्रमण गरिरहेको दाबी गरेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०९:३७
Weather Update