
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइएको बताएका छन्। झापाको बिर्तामोडमा एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूविरुद्ध भ्रम फैलाइएको बताएका हुन्।
विगत चारपाँच वर्षदेखि आफूविरुद्ध कम्बोडियामा पैसा राखेको भनेर भ्रम फैलाउन थालिएको उनले बताए। नक्कली कागजात बनाएर आफूविरुद्ध भ्रम फैलाइएको पनि उनको भनाइ थियो।
‘४–५ वर्षअगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ। अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछन्। त्यो नक्कली चिर्कटो १ करोड ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरू पनि छन्। यस्ता खालका मानिसहरू पनि छन्। कहाँको बैंकमा कति लाख डलर, कति मिलियन डलर केपी ओलीको बैंक खातामा छ भनेर हल्ला गर्नेहरू पनि देखिन्छन्,' ओलीले भने, 'तिनीहरूलाई समातेर कहाँ छ ल पुष्टि गर त ? बैंकलाई भन्यो भने होइन, मैले केपी ओलीलाई बदनाम गर्न पो भनेको हो, हावा कुरा हो त्यो भन्छन्। हामी सच्चाइमा अडिग छौँ। इमानदारी थोपरेर होइन, आफूभित्रबाट आउनुपर्छ। भित्रबाट इमानदार आचरण गर्नुपर्छ। भित्रबाट इमानदार अभ्यास गर्नुपर्छ।’
अनैतिक ढङ्गले एउटा व्यक्तिलाई कुर्सीमा बसाइ दिएर जनता फेरि रैती हुन नसक्ने पनि ओलीले बताएका छन्।