
काभ्रे— ५५९.७ ग्राम सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार काभ्रेको बनेपा नगरपालिका वडा नं. १३ को डठु टोलमा गोप्य सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ का ३७ वर्षीय बसन्तकुमार लामा र रामेछापको रामेछाप नगरपालिका वडा नं. १ घर भई हाल काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ घोगेचौर बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
उनका अनुसार, काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बागमती एडी ८६०१ नम्बरको नीलो रंगको कारलाई रोक्दा सिटमुनि पत्रिकामा पोका पारी लुकाइराखेको ५५९.७ ग्राम (४७.९८४ तोला) सुन रहेको पाइएको प्रहरीले जनाएको छ। बरामद सुनको मूल्य ७१ लाख ८३ हजार ४ सय ६९ रुपैयाँ रहेको पनि प्रहरीले जनाएको छ।
प्रहरीले कारचालक बसन्तकुमार लामा र सोही कारमा सवार अमृत श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको छ।