
काठमाडौं— जल तथा मौसम विज्ञान विभागले हिउँदयामको सम्भावित मौसमी अवस्था अद्यावधिक गर्दै आगामी तीन महिना कम पानी पर्ने जनाएको छ।
यसअघि असोज १५ देखि पुस १६ देशका धेरै स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको विभागले अहिले फेरि मंसिर १६ देखि फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम पानी पर्ने जनाएको छ। अधिकतम र न्यूनतम तापक्रम भने असोज १५ देखि फागुन १६ सम्मै सरदरभन्दा बढी हुने विभागले जनाएको छ।
यसअघि विभागले असोज १५ देखि पुस १६ गतेसम्मको हावापानी आँकलन २० असोजमा सार्वजनिक गरेको थियो। त्यसको सारांशमा यस वर्ष १५ असोजदेखि १६ पुससम्मको अवधिमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने उल्लेख थियो। साथै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको भनिएको थियो।
यसैगरी अधिकतम र न्यूनतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने उल्लेख थियो। तापक्रमको प्रक्षेपण मिले पनि वर्षाको सवालमा भने विभागको प्रक्षेपण मिलेको देखिएको छैन। किनभने असोज १५ यताका अधिकांश दिन सुक्खा छन्।
यद्यपि जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भने डिसेम्बर महिना अझै बाँकी रहेकाले पानी पर्न पनि सक्ने बताउँछिन्। ‘पश्चिमी वायुको प्रभावले आजै पश्चिम तिर पानी परेको छ,’ डिसेम्बर महिनासम्म हेरौं न,’ उनले भनिन् ।
गत वर्ष मिलेको थिएन हिउँदको प्रक्षेपण
गत वर्ष २०८० मा विभागले हिउँद अवधिमा गरेको वर्षाको प्रक्षेपम मिलेको थिएन। त्यतिबेला विभागले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकोमा त्यसविपरीत सरदरभन्दा कम वर्षा भएको थियो।
गत वर्षको तापक्रमको आँकलन भने मिलेको थियो। गत हिउँदमा विभागले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका मध्य तथा उत्तरी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा कम र बाँकी भूभागमा सरदरभन्दा बढी हुने प्रक्षेपण गरेकोमा दक्षिणी भूभागमा सरदरभन्दा कम र बाँकी भूभागमा सरदरभन्दा बढी मापन भएको थियो।
यसैगरी न्यूनतम तापक्रमको देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण गरेकोमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी नै मापन भएको थियो। विभागकी प्रवक्ता पोखरेल हिउँद अवधिको प्रक्षेपण गर्न मनसुनको जस्तो सजिलो नहुने बताउँछिन्।
‘यो पूर्वानुमान न हो, कहिलेकाहीँ नमिल्न सक्छ’ उनले भनिन्, ‘हिउँदयामको पूर्वानुमान मनसुनको जस्तो सजिलो हुँदैन।’ तर विगतका वर्षको तुलनामा जल तथा मौसम विज्ञान विभागले गर्ने पूर्वानुमान धेरैजसो मिल्दै गएका र यसमा अझै सुधार ल्याउने प्रयास भइरहेको उनी बताउँछिन्।