सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको माग

काठमाडौं— नेपाल शिक्षक सङ्घले शिक्षक र विद्यालयका हकहितलाई सम्बोधन हुनेगरी छिटो सङ्घीय शिक्षा ऐन ल्याउनुपर्नेलगायत २० बुँदे माग सार्वजनिक गरेको छ ।
हालै भएको नवौँ महाधिवेशन र सङ्घीय कार्यसमितिको पहिलो बैठकका निर्णय पत्रकार भेटमार्फत आज सार्वजनिक गर्दै सङ्घले नेपाली शिक्षकले भोग्नुपरेका समस्या समाधानका लागि निरन्तर रूपमा सरकारसँग दबाब निर्माण गर्दा पनि शिक्षा र शिक्षकमैत्री शिक्षा ऐन जारी हुन नसकेको जनाएको छ ।
सङ्घका अध्यक्ष सोमनाथ गिरीले शिक्षकका माग र मुद्दा यथावत् रहेको तथा नेपाल सरकार र पेसागत सङ्गठनबीच विगतमा भएका ५१ बुँदेलगायत सम्झौता कार्यान्वयन नहुँदा सरकार आफैँले गरेको सम्झौताप्रति इमान्दार हुन नसकेको आरोप लगाए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १५:५७













