News Griha :: न्यूजगृह
यी प्रदेशमा हुनेछ आज हल्कादेखि मध्यम वर्षा

काठमाडौं — देशका केही भूभागमा आज वर्षाको सम्भावना छ। केही क्षेत्रमा बिहानैबाट वर्षा भइरहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।

मध्य र पूर्वी तराइका धेरै भूभागमा हुस्सु लागेको छ। थोरै भूभागमा कुहिरो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहनेछ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। 

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

विभागले राति कर्णालीलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ।

बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा पनि हल्का हिमपात हुने सम्भावना रहेको विभागको भनाइ छ। 

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको विभागले बताएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०६:५५
Weather Update