News Griha :: न्यूजगृह
रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण : केपी ओली

काठमाडौं—  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन् । 

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी नै तानिएपछि ओलीले यस विषयमा पार्टीले अध्ययन गरिरहेको प्रतिक्रिया दिँदै त्यस्तो बताएका हुन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भएपनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गरे । 

उनले सचिव रायमाझीलाई तानेको वा तनाएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउनेसमेत बताए । कुनैपनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै ओलीले फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनीसमेत दिए । 

ओलीले भने, 'समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । यो तानेको हो कि तनाएको हो भन्ने अध्ययन हामी गर्दैछौँ । अध्ययन गरेपछि हामी आफ्नो धारणा बाहिर ल्याउँछौँ । निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ । ४ वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेक जस्ता कुराहरू, एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ, उहाँ भागेर जाने कतै होइन । यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु ।'

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गरे । 

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १५:२२
Weather Update