News Griha :: न्यूजगृह
एक करोड बढीको सुन, चाँदी र नगदसहित कैलालीबाट ३ जना पक्राउ
तस्बिर : एपीएफ।

काठमाडौं — कैलालीबाट सशस्त्र प्रहरीले एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको छ। 

भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा  इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका -१  का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार रहेका छन्।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी ) पगियापसारले नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई  सुरक्षा जाँच गर्दा  ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम  सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी,  विभिन्न दरका ६ लाख ११ हजार ६२५  भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न  किसिमका चार  थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुडासहित नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०७:२९
Weather Update