News Griha :: न्यूजगृह
संक्रमणकालीन न्यायका पदाधिकारीका लागि ४० जना संक्षिप्त सूचीमा छनोट

काठमाडौं  — संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीका लागि ४० जनालाई संक्षिप्त सूचीमा छनोट गरिएको छ। सिफारिश समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि अध्यक्षमा आठ जनालाई संक्षिप्त सूचीमा छनोट गरेको हो।

अध्यक्षका लागि डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापती, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छन्। त्यस्तै, सदस्यका लागि ३२ जनाको नाम छनोट गरिएको समितिले जनाएको छ। दुई आयोगका पदाधिकारीका लागि १५६ जनाको आवेदन परेको थियो।

सरकारले गत कात्तिक २ गते पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिश समिति गठन गरेको थियो। समितिलाई दुई महीनाभित्र नाम सिफारिश गर्न कार्यादेश दिइएको थियो।

समितिले शनिबार सूचना प्रकाशित गरि आयोगका अध्यक्ष र सदस्यका लागि छनोट भएका व्यक्ति विरुद्ध उजुरी आह्वान गरेको छ। उजुरी वा सूचना दिनका लागि समितिले पाँच दिनको समय छुट्याएको छ।

त्यसपछि समितिले मंसीर २७ देखि २९ गतेसम्म छनोट भएका व्यक्तिको प्रस्तुतीकरणका लागि समय तोकेको छ। उजुरीमाथि छानबिन र प्रस्तुतीकरण सुनेपछि समितिले पदाधिकारीका लागि सरकारलाई सिफारिश गर्नेछ।

अध्यक्ष र सदस्यका लागि संक्षिप्त सूचीमा छनोट भएका व्यक्ति:

TRC_1.jpg

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १३:३५
Weather Update