News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
यसपालि मनसुनमा सरदरभन्दा कम पानी पर्ने
फाइल तस्बिर ।

काठमाडौं— योवर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका जल तथा मौसम विभागका प्रवक्ता सुमन कुमार रेग्मीले जानकारी दिएका छन् । 

बिहीबार विभागको बबरमहलस्थित कार्यालयमा राष्ट्रिय मनसुन फोरमको बैठक बसेको थियो । बैठकमा यस वर्ष पनि नेपालमा सरदर कति पानी पर्छ भनेर छलफल भएको उनले न्यूजगृहलाई बताए । ‘यसपालि मनसुनमा सरदरभन्दा कम पानी पर्ने मौसमविद्हरूले अनुमान गर्नुभएको छ,’ उनले भने, ‘तर, मनसुन कहिलेदेखि नेपाल भित्रिन्छ भन्न सकिन्न । साधारणतयाः भारतको केरलामा १ जुनबाट नै मनसुन भित्रिन्छ ।’ 

बैठकमा आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ५५ प्रतिशत रहेको बताइएको छ । तर कोशी प्रदेशका मध्य तथा उत्तर–पूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेश प्रदेशका अधिकांश भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ५५ प्रतिशत रहेको रेग्मीले बताए ।

Prabhu Bank

त्यसैगरी, न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको बताइएको छ । धेरैजसो भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ। सुदूरपश्चिम प्रदेशका मध्य भू–भाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भू–भाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भू–भाग र मधेश प्रदेशका पूर्वी भू–भागमा न्यूनतम तापक्रम सरदर हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ । 

विगत दुई वर्षमा मनसुनमा लगातार सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएको थियो । तर, गतवर्ष मनसुनमा अनुमानभन्दा कम पानी पर्‍यो । जल तथा मौसम विभागले एकहजार तीन सय २८ मिलिमिटर वर्षा मापन गरेको थियो, जुन ९० प्रतिशत मात्र हो । मनसुनको औसत वर्षा एकहजार चार सय ७२.४ मिलिमिटर मानिन्छ । तर, गत वर्ष वर्षा कम भएपनि क्षति बढी भएको थियो । बाढी, पहिरो तथा चट्याङ्ग लागेर १७८ ले ज्यान गुमाएका थिए । 

साधारणतयाः नेपालमा जुन, जुलाई र अगस्टमा मनसुनी वर्षा हुने गर्छ । बङ्गालको खाडीबाट आएको मनसुनी वायु भारतको केरला हुँदै १० जुनमा नेपाल भित्रिने गर्छ । गत वर्ष औसतभन्दा १० दिन ढिलो गरी मनुसन भित्रिएको थियो । 

उपत्यकामा शुक्रबारदेखि मौसम सुधार

काठमाडौं उपत्यकामा केही दिनदेखि लगातार पानी परिरहेको छ । छाता तथा रेनकोट नबोकी हिँड्ने बानी परेकाहरू वर्षामा रुझ्न बाध्य भएका छन् । 

यसरी लगातार परिरहेको वर्षा अन्य केही नभइ प्रि–मनसुन हो । नेपालमा साधारणतयाः देशव्यापी रूपमा अंग्रेजी महिनाको मार्चदेखि अप्रिलसम्म प्रि–मनसुन वर्षा हुने गर्छ । यसपटक मार्चको सुरुमा पानी परेको थिएन । त्यसैले मेको पहिलो साता सुरु हुँदा पनि पानी परिरहेको मौसम जल तथा मौसम विभागका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

उनी भन्छन्, ‘प्रि–मनसुनले गर्दा वर्षा भइरहेको हो । अब प्रि–मनसुन सकिन लाग्यो । नेपालमा असली मनसुन सुरु हुनुअघि प्रि–मनसुन हुने गर्छ ।’ हाल मुलुकमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको बताइएको छ । 
मौसविद्हरूका अनुसार मुख्य मनसुन सुरु नभएसम्म हुने वर्षालाई प्रि–मनसुन भनिन्छ । 

प्रि–मनसुनमा पश्चिमी वायुबाट पूर्वतर्फ बादल धकेलिने प्रक्रियाबाट वर्षा हुन्छ भने मनसुनमा आकाशमा सेट भएर बसेको बादलबाट वर्षा हुन्छ, जुन पूर्वबाट पश्चिममा बादल धकेलिन्छ । बङ्गालको खाडीबाट आएको मौसमी वायुमा आद्रता पनि हुन्छ । 

मौसमविद् झाका अनुसार काठमाडौंमा मात्र प्रि–मनसुनमा ७२.२ मिलीमिटर वर्षा भएको छ । ‘साधारणतयाः काठमाडौंमा प्रि–मनसुनमा औसतमा ६१ मिलीमिटर वर्षा हुने गथ्र्यो । शुक्रबारदेखि उपत्यकाको मौसममा भने केही सुधारको अपेक्षा छ,’ उनी भन्छन्, ‘तर, हल्का वर्षा भने हुन सक्छ । मुलुकको अन्य भागमा भने मध्यम वर्षा भइ नै रहनेछ ।’  

वर्षा मात्र होइन काठमाडौंमा हिउँदजस्तो अनुभूति दिने चिसो पनि बढेको छ । उपत्यकामा भौगोलिक अवस्थिति र केही दिनदेखि घाम नलागेकोले मौसम चिसो भएको जल तथा मौसम विभागका प्रवक्ता रेग्मी बताए । 

मौसम विभागको आधिकारिक वेबसाइटमा तीन दिनको मौसम पूर्वानुमान राख्ने गरिन्छ । वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार पहिलेभन्दा अहिले मौसम पूर्वानुमान ८० प्रतिशतभन्दा बढी मिल्न आउँछ । तीन दिनको पूर्वानुमानअनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ । 

गण्डकी, कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो साताको सुरुवातदेखि नै यी क्षेत्रमा वर्षा भइरहेको मौसमविद् झा बताउँछन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १४:४७
Weather Update