News Griha :: न्यूजगृह
कांग्रेसको कोशी प्रदेश सम्मेलन शेखरले बहिष्कार गर्ने
फाइल तस्बिर।

काठमाडौं — नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखि सुरु हुँदैछ। सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ। उनी शुक्रबार नै विराटनगर पुगिसकेका छन्।

सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरू पनि सम्मेलनमा सहभागी हुनेछन्।

सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिनेछ। कोशीमा संघीयतापछि पहिलोपटक सम्मेलन हुन लागेको हो। संस्थापनइतर पक्षका नेता शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलन पनि बहिष्कार गर्ने भएका छन्।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन्। स्रोतका अनुसार, वरीयता विवाद भएपछि शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन्। उनले सभापति देउवापछिको वरीयतामा दाबी गरिरहेका छन् तर दोस्रो वरीयतामा उपसभापति खड्का छन्।

अरु सबै शीर्ष नेता विराटनगर पुगिसक्दा कोइराला भने आज चितवनमा हुने दुईवटा शोकसभामा सहभागी हनु लागेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ०९:२४
Weather Update