
काठमाडौं — यो वर्षको हिउँदको पहिलो वर्षा आउँदो सोमबार हुने सम्भावना छ। देशका केही स्थानमा त्यस दिन वर्षा हुने अनुमान गरिएको छ। आइतबार रातिदेखि नै बदली (आकाशमा बादल) बढ्दै जाने र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल विकासको चरणमा रहेको पश्चिमी न्यूनचापीय प्रणाली त्यस अवधिमा सक्रिय हुने सम्भावना छ। त्यो प्रणाली शनिबार (भोलि)देखि बनेर इरान, अफगानिस्तान, पाकिस्तान हुँदै नेपालतिर सर्नेछ।
त्यसको प्रभावले सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्म बदली र वर्षा हुन सक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए। त्यस अवधिमा पानी परे त्यो यस वर्षको हिउँदको पहिलो वर्षा हुने उनले जानकारी दिए।
'पश्चिमी न्यूनचापीय प्रणाली/क्षेत्र भोलिदेखि बन्दै जाने र नेपालतिर सर्ने सम्भावना छ,' उनले भने, 'अहिलेको अवस्थाबाट हेर्दा त्यसले आइतबार रातिबाट डिस्टर्ब (बदली/वर्षा) हुने सम्भावना छ।' यो विषयमा शनिबार र आइतबार अझ स्पष्टसँग भन्न सकिने उनले बताए ।
पश्चिमी वायु पश्चिम क्षेत्रबाट पूर्वतिर सर्ने हुन्छ । त्यसैले पूर्वमा भन्दा उक्त प्रणालीको प्रभाव पश्चिममा पर्नेछ । हिमाली भेगमा हिमपात हुनेछ।
'पूर्वसम्मै बदली हुनेछ। पूर्वमा वर्षा/हिमपात नै नहुने भन्ने त होइन, सम्भावना न्यून देखिन्छ,' उनले भने, 'अध्यावधिक गर्ने क्रममा यो चेन्ज पनि हुनसक्छ।'
हालको अवस्थाबाट हेर्दा आइतबार राति र सोमबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली र वर्षा/हिमपातको सम्भावना बढी छ। 'यी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ,' उनले भने । त्यसमा पनि कुन स्थानमा बढी प्रभाव पर्ने भन्ने भोलि वा पर्सिमा अझ गहिरोसित भन्न सकिने उनले स्पष्ट पारे।
उक्त अवधिमा काठमाडौंमा वर्षाको मजबुत सम्भावना देखिएको छैन । तर, बदली र चिसो बढ्ने अनुमान गरिएको उनले बताए। 'अहिले अनुमान गर्दा बदली र चिसो बढ्ने देखिन्छ,' उनले भने, “हल्का वर्षा पनि हुनसक्छ।'