
काठमाडौं — भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरे।
‘पक्राउ पुर्जी जारी भएको छ। साइबरको काम सकिएपछि बयानका लागि हामी बोलाउँछौं,’ एसपी बोगटीले भने।
यसअघि प्रसाईंकै निर्देशनमा धम्क्याएको भन्दै झापाका हरिचन्द्र फुयाँललाई सीआईबीले पक्राउ गरेको थियो। फुयाँलले प्रसाईंकै निर्देशनमा धम्क्याएको खुलेको थियो।
फुयाँल र प्रसाईंबीच पनि १०० पटकभन्दा बढी फोन कल देखिएको थियो। उनीहरूविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइने सीआईबीले जनाएको छ।