काठमाडौं — भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक र रानी जेट्सुन पेमा वाङ्चुक शुक्रबार निजी भ्रमणको सिलसिलामा नेपाल आउने भएका छन्। उनीहरू भारत भ्रमण सकेर फर्कने क्रममा काठमाडौं आउन लागेका हुन्। काठमाडौंमा तीनदेखि चार घण्टा बिताउने कार्यक्रम छ।
'भुटानको राजा–रानी शुक्रबार बिहान काठमाडौं आउँदै हुनुहुन्छ। यो उहाँहरूको निजी भ्रमण हो। उहाँहरूले तीनदेखि चार घण्टा काठमाडौंमा बिताउने कार्यक्रम छ,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।
भुटानका राजा–रानीले मंसिर २० देखि २१ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार भुटानका राजा–रानी स्थानीय समयअनुसार बिहीबार बिहान ९:१० बजे नयाँदिल्ली पुग्नेछन्। सोही दिन बिहान ११:३० बजे उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।
बिहीबार दिउँसो ३:३० बजे भारतका विदेशमन्त्री डा. एस जयशंकरले नयाँदिल्लीको होटेल ताज प्यालेसमा भुटानका राजा–रानीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे भुटानका राजा–रानी नयाँदिल्लीबाट नेपालतर्फ लाग्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ। भुटानका राजा–रानी शुक्रबार बिहान साढे ९ बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भुटानका राजा–रानी खासगरी तीर्थाटनको लागि नेपाल आउन लागेका हुन्। स्वयम्भु र बौद्धनाथ दर्शन गर्न आवश्यक तयारी भइरहेको छ। निजी भ्रमण भएका कारण हालसम्म राजनीतिक भेटवार्ताको कुनै तयार गरिएको छैन। छोटो अवधिको लागि नेपाल आउन लागेका कारण राजनीतिक भेटवार्ता नमिलाइएको स्रोतले बतायो।
'अहिलेसम्म राजनीतिक भेटवार्ताको कार्यक्रम बनेको छैन,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो। काठमाडौंमा तीनदेखि चार घण्टा बिताएपछि भुटानका राजा–रानी स्वदेश फर्किने कार्यक्रम छ। केही साताअघि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको सिलसिलामा भुटान गएका थिए। भुटानका राजा–रानीले उक्त समयमा पूर्वराजा ज्ञानेन्द्रलाई उच्च सम्मान दिएका थिए।