News Griha :: न्यूजगृह
गगन भन्छन्– ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदैछ, कानुनभन्दा माथि कोही हुँदैन

काठमाडौं— नेपाली कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सांसदसमेत रहेका थापाले यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको उल्लेख गर्दै अझै गहिरोसँग अनुसन्धान गर्न माग गरेका छन् । 

‘यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन्,’ उनले लेखेका छन्, ‘संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुनभन्दा माथि कोही हुँदैन ।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले १० लाख देखि ६० लाख रुपैयाँसम्म लिइ ठगी गरेको उजुरीपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा ‘हाई प्रोफाइल’ को समेत संलग्नता देखिएपछि प्रहरीले बहालवाला सांसद तथा एमाले नेता टोपबहादुुुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ । यस्तै, पूर्वमन्त्री टोपबहादुर रायमाझी, बादल पुत्र प्रतीक थापा तथा इन्द्रजित राईका छोराविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । 

यस्तै, प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई पक्राउको तयारी गरेको छ । उच्च स्रोतका अनुसार राईलाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसमेत ‘ग्रीन सिग्नल’ दिइसकेका छन् ।

यो प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र उनी पछिका गृहमन्त्री नेपाली कांग्रेस नेता बालकृष्ण खाणसमेत मुछिने सम्भावना छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १३:००
Weather Update