News Griha :: न्यूजगृह
आगो निभाउने क्रममा प्रहरीसहित ३ जना घाइते

काठमाडौं — कैलालीमा एक गोदाममा लागेको आगो निभाउने क्रममा प्रहरीसहित तीन जना घाइते भएका छन्। मंगलबार राति बर्दगोरिया गाउँपालिका-२ बौनियाका द्धारिकाप्रसाद धमलाको चार तले घरको दुई तले घरमा राखिएको कपडा र इलेक्ट्रोनिक सामानको गोदाममा आगलागी भएको थियो।

गोदाममा लागेको आगो निभाउने क्रममा घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला, सोही ठाउँ बस्ने ३९ वर्षीय टेकराज जोशी र बौनियामा कार्यरत प्रहरी जवान टंकध्वज मगर सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताए।

उनकाअनुसार घाइते भएका मध्ये जोशी र प्रहरी जवान मगरको हात तथा मुखमा जलेको छ। स्थानीय अस्पतालमा उपचारपछि सबै जना डिस्चार्ज भइसकेका छन्।

आगलागीबाट करिब ७० लाखको क्षति भएको प्रहरीले जनाएको छ। घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो राति करीब १० बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०७:२३
Weather Update