काठमाडौं — दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन (मार्शल ल) लगाउने निर्णयबाट पछि हटेका छन्। यो निर्णयको प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि राष्ट्रपति योलले आफ्नो निर्णय केही घण्टामै बदलेका हुन्।
उनले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै देशको सुरक्षा गर्न मार्शल ल लगाउनु परेको बताएका थिए। ‘उत्तरकोरियाको कम्युनिष्ट शक्तिबाट देशको सुरक्षाका लागि र देश विरोधी तत्वलाई अन्त्य गर्नका लागि मार्शल ल लागू गर्नु परेको छ,’ उनले भनेका थिए। उनले देशमा मार्शल ल कहिलेसम्म जारी रहन्छ भन्ने पनि स्पष्ट पारेका थिएनन्।
यो घोषणा लगत्तै सैनिकहरु संसद भवन र वरपरका क्षेत्रमा तैनाथ भएका थिए। उनीहरुले संसद भवनमा कसैलाई पनि प्रवेश दिएका थिएनन्। त्यसको प्रतिवाद गर्दै प्रतिपक्षी दल सडकमा उत्रिएको थियो।
राष्ट्रपति योलले विनाकारण सैन्य शासन लागू गरेको र यो असंवैधानिक समेत भएको प्रतिपक्षीको भनाइ थियो। त्यसपछि फेरि विशेष सम्बोधन गर्दै राष्ट्रपति योलले मार्शल ल लगाउने निर्णय फिर्ता लिएको बताए। उनले संसदले मार्शल ल हटाउन माग गरेकाले आफूले सेनालाई फिर्ता बोलाएको बताए। उनले भने, ‘मैले नेशनल एसेम्बलीको अनुरोधलाई स्वीकार गरेको छु र मन्त्रिपरिषद बैठकमार्फत् मार्शल ल हटाउने छु।’
दक्षिण कोरियाका सांसदहरुले नेशनल एसेम्बलीको मध्यरात्रि सत्रमा ‘मार्शल ल’ लगाउने निर्णय फिर्ता हुनुपर्ने प्रस्ताव पारित गरेका थिए। यसैकारण राष्ट्रपति योल आफ्नो निर्णयबाट पछि हटेका हुन्।