काठमाडौं — चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै छन्। उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन्।
प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
चीनको चार दिने औपचारिक भ्रमणका लागि गत सोमबार बेइजिङ गएका प्रधामन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ, चिनियाँ प्रधानमन्त्री ली छ्याङ र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।
दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी ९ वटा सहमति/समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो।
प्रधानमन्त्री ओली मंसिर २० गते अर्थात् भोलि बुधबार स्वदेश फर्किंदै छन्।