News Griha :: न्यूजगृह
‘बीआरआई फ्रेमवर्क’ मा भएन हस्ताक्षर, आयोजनागत रूपमा मात्रै समझदारी
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा चीनका राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं — नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर हुन सकेन। नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि बीआरआई फ्रेमर्वमा हस्ताक्षर हुन नसकेको हो।

नेपाली पक्षले तयार पारेको सहकार्य फ्रेमवर्कभित्रका केही शब्दहरूमा चिनियाँ पक्ष सहमत नभएपछि प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान यसपटक उक्त मस्यौदामा हस्ताक्षर नभएको भ्रमणमा सहभागी एक अधिकारीले बताए।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको थियो। ‘आयोजनागत रुपमा मात्रै सहमति तथा समझदारी पत्रमा हस्ताक्षर भएको हो। ती आयोजनामा के के काम गर्ने भन्ने विषय आआफ्नै हिसाबले लागू हुनेछ,’ भ्रमणमा सहभागी एक अधिकारीले भने, ‘यी आयोजनाहरूको कार्यान्वयन भने बीआरआईअन्तर्गत हुने भनिएको छ।’

९ बुँदे सहमतिपत्रमा हस्ताक्षरपछि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता गरेका छन्। ‘करिब २० मिनेट दुई जनाबीचमा मात्रै छलफल भएको छ,’ छलफल सकिएलगत्तै भ्रमणमा सहभागी ती अधिकारीले भने।

सीसँगको भेटवार्तामा पनि बीआरआई सम्झौताको विषयले स्थान नपाएपछि यस पटक ओलीको चीन भ्रमणका दौरानमा सहकार्य फ्रेमवर्कमा हस्ताक्षर नहुने भएको छ।

नेपालले सन् २०१७ मा बीआरआईको समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। चीनले यसपटक नेपालका प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा ‘बीआरआई कार्यान्वयन कार्ययोजना’मा हस्ताक्षरको प्रस्ताव गरेको थियो।

चीनले पठाएको कार्यायोजनाको नाम परिवर्तन गरेर बीआरआई सहकार्य फ्रेमवर्क भन्दै नेपालले ऋण नलिने गरी प्रस्ताव फिर्ता पठाएको थियो। नेपालले पठाएको उक्त फ्रेमवर्कभित्रका ‘ऋण’, ‘लगानी’, ‘अनुदान’ जस्ता शब्दहरूमा चिनियाँ र नेपाल पक्षबीच लामो छलफल भएको थियो।

नेपालले ऋण नलिने र चीनले लगानी भन्ने शब्द राख्नुपर्ने जनाएपछि आयोजनागत रुपमा मात्रै समझदारी तथा सहमतिपत्रमा हस्ताक्षर भएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १८:५५
Weather Update