काठमाडौं — नेकपा (माओवादी केन्द्र)ले उपनिर्वाचनको परिणामलाई उत्साहजनक सफलताका रूपमा व्याख्या गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनबारे विज्ञप्ति जारी गरी पार्टीले जितेका पदाधिकारी र प्राप्त जनमत उत्साहजनक रहेको उल्लेख गरेका छन्।
‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रूपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौँ,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’
अध्यक्ष प्रचण्डले माओवादीले लिएको मुद्दामा जनसमर्थन जुटेको र अवाञ्छित गठबन्धन असफल भएको निष्कर्ष पनि सार्वजनिक गरेका छन् । ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ,’ प्रचण्डले भनेका छन्, ‘यसबाट हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ।’