काठमाडौं — कांग्रेसले उपनिर्वाचनमा पार्टीको प्रदर्शन सन्तोषजनक र उत्साहवर्द्धक रहेको जनाएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहवर्द्धक संकेतका रूपमा लिएको जनाएका हुन्।
दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद यसअघि नै निर्विरोध भएको थियो भने आइतबार ४१ पदमा मतदान भएको हो। समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १/१ पदमा विजयी भएका छन्।
उपनिर्वाचन भएका पालिका प्रमुख र उपप्रमुखका ८ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र माओवादीले २ स्थानमा जितेका थिए। अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन्। कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ।
कांग्रेस महामन्त्री शर्माले भनेका छन्, 'उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र एक्यवद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ। मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणाली मार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ।'
कांग्रेस समग्रमा रिक्त ४४ मध्ये १९ स्थानमा विजयी भएको छ। शर्माले यसलाई राजनीतिक, सांगठनिक र गुणात्मक रूपले महत्त्वपूर्ण रहेको बताएका छन्। 'समग्रमा यो ४३.१८ प्रतिशत हो ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण छ। यो परिणाम हासिल गर्न मैदानमा जुटेका सबै तहका सबै आदरणीय साथीहरूमा बधाई र सम्मान छ,' शर्माले भनेका छन् ।