News Griha :: न्यूजगृह
उपनिर्वाचन सम्पन्न, ४४ सिटमध्ये कुन दलले कति जिते?

काठमाडौं —स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको छ। जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा पनि माओवादी उम्मेदवार निर्विरोध भएका थिए। तीन ठाउँमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि आइतबार मतदान भएको थियो। मतदान भएकामा दुईवटा नगरपालिका प्रमुख र एउटा गाउँपालिका अध्यक्ष पद थिए। त्यस्तै उपाध्यक्ष एवं उपप्रमुख पद ५ वटामा मतदान भएको थियो। ३३ वटा वडाध्यक्ष पनि मतदानबाटै चुनिएका छन्।

४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ। दोस्रो बढी माओवादीले जितेको छ। उसले ११ वटा सिट जितेको छ। एमालेले ८ स्थानमा जित निकालेको छ। 

यस निर्वाचनमा जसपा नेपालले २ स्थान जितेको छ भने नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एकएक ठाउँ जितेका छन्। यस निर्वाचनमार्फत रास्वपाले स्थानीय सरकारमा पहिलोपल्ट प्रवेस पाएको छ। 

माओवादीले केही आफ्ना पुराना सिट गुमाए पनि नयाँ ठाउँमा जितेर उल्लेख्य सिट बढाएको छ। कांग्रेसले केही नयाँ ठाउँमा जित हात पारे पनि साविकका उल्लेख्य सिट गुमाएको छ। एमालेले केही वडाध्यक्षका पद गुमाएर प्रमुख र उपप्रमुखको पद जोडेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ०६:१६
Weather Update