काठमाडौं— कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन्। आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन्। उनी ७ सय ७९ मतान्तरले विजयी भएका छन्।
डंगोलका निकटतम् प्रतिस्पर्धी माओवादीका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए। त्यस्तै नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए।
यसअघि ०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो। वामपन्थीहरूको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा पहिलो पटक एमाले 'क्लिन स्विप' भएको थियो।
२०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए। कीर्तिपुरको मेयर तथा उपमेयर मात्रै नभएर १० मध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवारहरू विजयी भएका थिए।
त्यस्तै आइतबार नै भएको उपनिर्वाचनमा कीर्तिपुर-१ र कीर्तिपुर-४ मा कांग्रेसकै इच्छाकुमार महर्जन र राजेन्द्र बानियाँ विजयी भएका छन्।