News Griha :: न्यूजगृह
रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

अघिल्लो पेसीको झन्डै ११ महिनापछि सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो ।

युवराज सफलले लामिछानेमाथि उक्त विषयमा मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदरको माग गर्दै ०७९ चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सोमबार न्यायाधीश फुयाल र निरौलाको इजलासमा पेसी सूचीको ३० नम्बरमा परेको थियो ।

सर्वोच्चले यसअघि तीनपटक फाइल मगाउने आदेश गरेको थियो । ०७९ चैत २२ मा न्यायाधीश फुयालको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

०८० जेठ १ गते फुयालकै इजलासले फाइल मगाउने आदेश गरेपछि पेसी आठ महिना सारिएको थियो । त्यसको झन्डै ११ महिनामा फेरि पेसी चढेको मुद्दा पुनः हेर्न नभ्याइनेमै परेर स्थगित भएको छ ।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए ।

सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा हाल लामिछाने प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:१६
Weather Update