News Griha :: न्यूजगृह
हेटौँडा- १२ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी

मकवानपुर — मकवानपुरको हेटौँडा उपमहागरपालिका वडा नम्बर १२ को अध्यक्षमा कांग्रेस विजयी भएको छ। आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा हेटौंडा वडा नम्बर १२ को अध्यक्षका लागि भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित भएका हुन्।

निर्वाचन आयोगले सोमबार बिहान जारी गरेको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार तिवारीले २ हजार ६३ मत प्राप्त गरी जित हासिल गरेका हुन्। हेटौँडा १२ को अध्यक्षको निर्वाचनमा दोस्रो भएका माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५६० मत प्राप्त गरेका छन् भने तेस्रो भएका एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

हेटौँडा १२ को अध्यक्षका राप्रपा उम्मेदवार प्रेमबहादुर भोलनले १७८, रास्वपाका आशाविर बलले ८३, एकीकृत समाजवादीका बलराम बलले ७३ मत प्राप्त गरेको आयोगले जनाएको छ।

यस वडामा कुल ८ हजार ५३ मतदाता रहेका थिए। २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका थिए। वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका थिए। जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०६:३०
Weather Update