काठमाडौं— राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका अति विशिष्ट र विशिष्ट (भीभीआईपी) विदेश भ्रमण जाँदा र फर्किँदा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने राज्यका उच्च पदस्थ अधिकारीहरूको लर्कोमा अब कमी आउने भएको छ।
गृह मन्त्रालयले 'अति तथा वशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि, २०८१' मा संशोधन गरी विशिष्ट र अति विशिष्ट व्यक्तिहरूको विदेश भ्रमण हुँदा बिदाइ र विदेशबाट फर्किँदा स्वागत गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुने व्यक्तिको संख्यामा कटौती गरेको हो।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा प्रतिनिधिसभा सभामुख र राष्ट्रिय सभा अध्यक्ष अबदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ र स्वागतका लागि जान नपर्ने व्यवस्था गरिएको छ।
'अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थालाई प्रभावकारी, व्यवस्थित र मजबुत बनाउन र अति विशिष्ट व्यक्तिहरूको विदेश भ्रमणको क्रममा हुने स्वागत तथा बिदाइ कार्यक्रमलाई भीडभाडरहित एवं छरितो बनाई व्यवस्थित गर्न' कार्यविधिमा संशोधन गरिएको गृह मन्त्रालयले जनाएको छ।
अब राष्ट्रपति विदेश भ्रमणमा जाँदा र विदेश भ्रमणबाट फर्किँदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रधानसेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र शिष्टाचार महापाल मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुन पाउनेछन्।
यसअघि, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सबै मन्त्री, सांसद, सचिवहरू, सुरक्षा निकायका पदाधिकारीहरू लगायतको भीड विमानस्थलमा लाग्ने गरेको थियो। त्यस्तै, उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र स्वदेश फर्किँदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधानसेनापति, उपराष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुखलाई मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रवेश दिइने उल्लेख छ।
प्रधानमन्त्री विदेश जाँदा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, परराष्ट्र मन्त्रालय र सञ्चार मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुन पाउनेछन्।
गृह मन्त्रालयले यो कार्यविधि लागू गरेसँगै अतिविशिष्ट र विशिष्ट व्यक्तिको विदेश भ्रमण हुँदा र स्वदेश फर्किँदा सडकदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सुरक्षा चुनौतीमा कमी आउने बताइएको छ।