News Griha :: न्यूजगृह
त्रिवि मैदान पुगेका दर्शकसँग धकेलाधकेलपछि दुई प्रहरी घाइते, एकको अवस्था गम्भीर

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न त्रिवि मैदान पुगेका दर्शकसँग धकेलाधकेलपछि भएको झडपका क्रममा दुई जना प्रहरी जवान पनि घाइते भएका छन्।

प्रहरीका अनुसार शनिबार दिउँसो जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीचको खेल हेर्न पुगेका दर्शकबीच धकेलाधकेल हुँदा केहीबेर झडपको अवस्था सिर्जना भएको थियो।

सो क्रममा संघीय संसद् सुरक्षा बेस, नयाँ बानेश्वरमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय तामाङ र २८ वर्षीय दान बहादुर राउत घाइते भएका हुन्।

प्रहरीले दिएको जानकारी अनुसार कीर्तिपुरमा शनिबार ३ सय ८४ जना प्रहरीको टोली खटिएको थियो। प्रहरी जवान तामाङको कीर्तिपुर अस्पतालमा सामान्य उपचार पछि अहिले वीर अस्पताल रिफर गरिएको थियो। त्यहाँबाट उनलाई बाँसबारीस्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ।

तामाङको अवस्था गम्भीर रहेको जानकारी गराउँदै प्रहरीले उनी बोल्न नसक्ने अवस्थामा रहेको बताएको छ। उनको टाउकोमा चोट लागेको छ।

त्यस्तै, अर्का जवान राउतको पनि कीर्तिपुर अस्पतालमा सामान्य उपचारपछि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको छ।

उनको अनुहार, टाउको र घाँटीमा चोट लागेको छ। राउत भने बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार ५ जना दर्शक पनि घाइते भएका छन्।

घाइते हुनेमा रुपन्देहीको सिद्धार्थनगर घर भई बानेश्वर बस्ने २५ वर्षका जयन श्रेष्ठ, गुल्मीको कालिगण्डकी घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई हाल सितापाइला बस्ने ३२ वर्षीय केशव आचार्य, बैतडीका केशव नेँगी र रुकुम मुसिकोट घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय प्रेम खड्गी छन्। 
 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १८:३५
Weather Update