News Griha :: न्यूजगृह
सिरियाको अलेप्पो शहर विद्रोहीको कब्जामा

काठमाडौं — सिरियाको दोस्रो ठूलो शहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा लिएका छन्। बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्बेटरी फर ह्युमन राइट्सका अनुसार गत बुधबारदेखि सुरु भएको आक्रमणमा कम्तीमा २० सर्वसाधारणसहित ३ सय जनाभन्दा धेरै मारिएका छन्।

सन् २०१६ मा राष्ट्रपति बसर अल-असदको सेनाबाट पराजित विद्रोहीले गत बुधबार अलेप्पोमा आक्रमण गरेका थिए। यो सिरियाली सरकारविरुद्ध लामो समयपछिको ठूलो आक्रमण भएको बीबीसीले जनाएको छ।

असदलाई समर्थन गर्दै आएको रुसले पनि सन् २०१६ यता पहिलोपल्ट शुक्रबार रातिदेखि अलेप्पोका विभिन्न स्थानमा आक्रमण गरेको थियो। सन् २०११ मा द्वन्द्व सुरु भएसँगै रुसले राष्ट्रपति असदलाई सहयोग गर्दै आएको छ। सन् २०१५ सेप्टेम्बरदेखि भने रुसी सेना सिरियाको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न छ।

समाचार संस्था रोयटर्सका अनुसार अलेप्पो सहरको विमानस्थल र सहरतर्फ जाने सबै सडक बन्द गरिएको छ। विद्रोहीहरूले ठूलो प्रतिरोधबिना नै अलेप्पोको आधा भूभाग कब्जा गरेको निगरानी समूहका निर्देशक रामी अब्देल रहमानलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। 'नगर परिषद, प्रहरी स्टेसन, गुप्तचर कार्यालयहरू सबै खाली छन्,' उनले भने, 'यस्तो पहिले कहिल्यै भएको थिएन।'

सरकारी सैनिकपछि हटेका कारण त्यहाँ कुनै भिडन्त नभएको र एउटा पनि गोली नचलेको उनले बताए। यसअघि सेनाले बुधबार विद्रोही र तीनका सहयोगीले आक्रमण सुरु गरेका र नियन्त्रणमा लिएका अलेपो र इड्लिब प्रान्तका केही सहरमाथि शुक्रबार पुन: नियन्त्रण कायम गरेको जनाएको थियो।

इस्लामिक लडाकु समूह ताहिर अल-शाम ‘एचटीएस’ सम्बद्ध च्यानलमा पोस्ट गरिएका भिडियोमा सहरका विभिन्न स्थानमा विद्रोही लडाकुहरू देखिएका बीबीसीले जनाएको छ। उक्त दृश्य अलेप्पोको पश्चिमी क्षेत्रको रहेको बीबीसीले पुष्टि गरेको छ।

सिरियामा सन् २०११ मा लोकतन्त्रपक्षधर विरोध प्रदर्शनहरूमा सरकारले दमन गरेपछि गृहयुद्ध सुरु भएको थियो। युद्धका कारण कम्तीमा पाँच लाख मानिसहरू मारिएका छन्। सशस्त्र समूहहरूले असद सरकारको विरोधमा देशमा चलिरहेको राजनीतिक उथलपुथलको फाइदा उठाउँदै सिरियाका कतिपय स्थान कब्जामा लिएका थिए।

तर पछि रुस र अन्य देशहरूको सहयोगमा सिरिया सरकारले आफूले गुमाएका अधिकांश क्षेत्र पुन: नियन्त्रणमा लिएको थियो। हाल सिरियाको इडलिब क्षेत्र इस्लामिक विद्रोही समूह हयात ताहिरर अल-शाम (एचटीएस) को नियन्त्रणमा छ। तर उक्त क्षेत्रमा टर्की समर्थित विद्रोही समूह र टर्कीको सरकारी फौजको पनि उपस्थिति छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १७:३७
Weather Update