
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले केन्द्रीय नेतृत्वलाई कतिपय जिल्लाबाट सहयोग नभएको गुनासो गरेका छन् ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका हकअधिकार स्थापित गर्न केन्द्रीय समिति लामाे समयदेखि खटिरहेको र कतिपय अवस्थामा केही जिल्लाका समितिबाट सहयोग नभएको गुनासो अध्यक्ष तिवारीले गरेका हुन् ।
‘विद्यालय कर्मचारी साथीहरू सबै भन्नुहुन्छ आन्दोलन गरौं । हामी नेतृत्व बसेका सबै साथीहरूको चाहना पनि त्यही नै छ । तसर्थ साथीहरू विधानसम्मत धेरै जिल्लाबाट हुनुपर्ने सानोसानो सहयोग त नभएको अवस्था छ अनि कसरी गर्ने आन्दोलन ? हो महासचिव (शान्तिनाथ योगी) ज्यू र म पूर्णकालीन रूपमा संस्थाका सदस्यहरूको सेवासुविधा सुनिश्चित गराउन लागिपरेका छौ,’ अध्यक्ष तिवारीले भने, ‘कति पारिवारिक समस्या महासचिवज्यूको होला, मेरो होला तर ती सबै त हामी थाती राखेका छौं । साथै केन्द्रीय समितिका सबै साथीहरू लाग्नुभएको छ ।’
जिल्लाबाट विद्यालय कर्मचारीले फोन गर्दा आफूहरूलाई परेको अफ्ठ्यरोका विषयमा सोधीखोजी नभएकोमा दुःख जनाउँदै अध्यक्ष तिवारीले भन्नभन्दा काम गरेर देखाउन गाह्रो हुने बताए । उनी भन्छन्, ‘फोन गर्नुहुन्छ के भयो कसैले सोध्नुहुन्न कि सन्चो विसन्चो, के कति गाह्रो छ, हामीले गर्नुपर्ने विषय । यसैगरी होला त हाम्रो माग पूरा । साथीहरू गाह्रो नमान्नु होला जति भन्न सजिलो छ त्योभन्दा सयौं गुणा काम गर्न गाह्रो हुन्छ त्यो बुझ्नु भएको छ ।’
अध्यक्ष तिवारीले जिल्लाबाट हुनुपर्ने सहयोग र विधान बमोजिमको कार्य गर्न आग्रह गर्दै आफूहरू माग पूरा गराउन निरन्तर लागि परेका बताए । उनले माग पूरा भएर क्रमशः सेवासुविधा पाउनेमा विश्वस्त रहेको बताएका छन् ।













