News Griha :: न्यूजगृह
प्रदूषण बढ्दो, व्यवस्थापन फितलो

काठमाडौं —  करिब साता दिनदेखि काठमाडौं उपत्यका धुम्मिएको छ । मौसम फेरबदलसँगै वायु प्रदूषण बढेको छ । उपत्यकामा वायु प्रदूषण निरन्तर बढ्दै गएको सूचकाङ्क (एक्यूआई)ले देखाएको छ ।

आईक्यू एयरका अनुसार उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ । रियल टाइममा मापन गरिएको एयरका अनुसार शुक्रबार अपरान्ह काठमाडौंस्थित मापन यन्त्रले देखाएको वायु प्रदूषणको मात्रा १७० यूएस एक्यूआई छ । जुन अस्वस्थकर मानिन्छ ।

त्यस्तै, सल्लाघारीको १७३, खरिपाटीको १६४, कीर्तिपुरको १६९, जावलाखेलको १७३ यूएस एक्यूआई  देखिएको छ । मंगलबार अपरान्ह २१४ यूएस एक्यूआई रहेकोमा बुधबार १६० बाट घटेर १३९ हुँदै बिहिबार २०० यूएस एक्यूआई  पुगेको थियो । यस्तै, आगामी साता पनि यूएस एकयूआई बढ्ने नै देखिन्छ ।

IMG-20230317-WA00201679123496.jpgतर, वनत था वातावरण मन्त्रालयअन्तर्गत रहेको वातावरण विभागको प्रदूषण मापन गरेर राख्ने वेबसाइट pollution.gov.np मा भने शुक्रबार दिनभरि रारा र खुमलटारको मात्र एक्यूआई भेटिन्छ । राराको २० र खुमलटारको १७३ एक्यूआई छ । बाँकी स्थानको एक्यूआई देखाइएको छैन । प्रदूषण अत्यधिक हुँदा विभागले मापन केन्द्र बन्द गरेर राख्ने गरेको आरोप समेत बेला बेलामा लाग्ने गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । ५० भन्दा माथि जति एक्यूआई बढ्दै गयो, उति वातावरण मानवको लागि हानिकारक मानिन्छ । एक्यूआई १५१ भन्दा माथि भए, सबैको लागि त्यो वातावरण अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने डब्लूएचओले जनाएको छ ।

IMG-20230317-WA00241679123497.jpg

एक्यूआई प्रदूषण मापन गर्ने प्रणाली हो । एक्यूआई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । यसले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

दिउँद र प्रि—मनसुनमा सधैँ प्रदूषण बढ्ने

दिउँद र प्रि—मनसुनको बेला अक्सर नेपालमा वायु प्रदूषण हुने गरेको छ । हाम्रा अधिकांश सहरी क्षेत्रमा फोहोर, प्रदूषित गाडी र पिच नगरिएका सडकबाट निस्कने धुलोले वायु प्रदूषण बढाएको छ ।

यस्तै, कृषि उत्सर्जनबाट निस्कने, छ्वालीहरु जलाउने, उद्योग कलकारखाना र ईंटा भट्टाले प्रदूषण बढाएको विज्ञहरु बताउँछन् । वायु प्रदूषणले गर्दा मानिसहरु अस्वस्थ हावामा सास फेर्न बाध्य छन् । वायु प्रदूषणबाट प्रत्येक वर्ष विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ । नेपालमा सन् २०१८ मा मात्रै ३७ हजार मानिसको ज्यान गएको डब्लूएचओले जनाएको छ ।

IMG-20230317-WA00211679123496.jpg

गत वर्ष पनि यही समयमा वायु प्रदूषणमा काठमाडौं लगायतका केही सहरहरु अग्रस्थानमा परेका थिए । त्यसो त संविधानको धारा ३० अनुसार प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक उल्लेख छ । यस्तै, वातावरण संरक्षणका निम्ति राष्ट्रिय वातावरण नीति, २०७६ छ ।

जसमा वायु प्रदूषण रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी वायु गुणस्तर अनुगमन प्रणालीको विकास, मापदण्डहरुको तर्जुमा तथा कार्यान्वयन, विद्युत्तयि सवारी साधनको प्रयोग लगायतका कुराहरुमा जोड दिएको छ ।

वातावरण संरक्षण ऐन, २०७६ ले कसैले पनि तोकिएको मापदण्ड विपरीत हुने गरी प्रदूषण गर्न नपाउने व्यवस्था गरेको छ । वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड र विभिन्न औद्योगिक प्रतिष्ठानहरुबाट निष्कासन भइ हावामा जाने धुलो धुवाँ सम्बन्धि मापदण्डहरु तर्जुमा भइ कार्यान्वयनमा आइरहेको छ । तर पनि वायु प्रदूषण रोक्नु त कता हो कता झन् झन् बढीरहेको छ ।

IMG-20230317-WA00221679123494.jpg

बारम्बार बढीरहेको वायु प्रदूषण रोकथाम गर्न सरकारले २०७६ मा नै एउटा कार्यसमिति बनाएको थियो । जसको नाम ‘काठमाडौं उपत्यका वायु प्रदूषण व्यवस्थापन कार्यसमिति, २०७६ रहेको थियो । कार्यसमिति बनाउनु मुख्य उदेश्य बढीरहेको प्रदूषण रोकथाम गरी जनस्वास्थ्यको रक्षा गर्नु र वातावरणको संरक्षण गर्नु रहेको बताइएको थियो ।

१३६ वटा क्रियाकलापहरु उल्लेख गरिएको कार्यसमितिका अधिकांश कार्यहरु पूरा भएका छैनन् भने कतिपय कार्य सुरु समेत भएको छैन । कतिपय कार्यसमितिका कामहरु एक वर्षभित्र, कुनै दुई वर्षभित्र, तीन वर्ष र पाँच वर्षभित्र कार्यान्वयनमा ल्याउनुपर्ने छ ।

कार्यसमितिमा वातावरण विभागको क्षेत्राधिकार भित्र परेका धेरै कार्यक्रमहरु कार्यान्वयनको चरणमा परेको विभागले दाबी गरेको छ । तर वास्तविकता भने फरक छ । प्रदूषण मापनको लागि राखिएको २७ वटा प्रदूषण मापन स्टेसनमा हाल १० वटा मात्र सञ्चालनमा छन् । जसमा रत्नपार्क, कीर्तिपुर, शंखपार्क, इसिमोडको खुमलटार, अमेरिकी दूतावास र फोहरा दरबार, धनकुटा, रारा र पोखरामा रहेका मापन केन्द्र सञ्चालनमा छन् ।

IMG-20230317-WA00261679123494.jpg

काठमाडौंको प्रदूषणको मापनको लागि चाहिने अधिकांश ठाउँको मापन केन्द्र सञ्चालनमा रहेको विभागका निरिक्षण गोविन्द प्रसाद लामिछानेको दाबी छ । तर, प्रदूषित क्षेत्रमा परिरहने तराई क्षेत्रको मापन केन्द्र सञ्चालनमा छैन ।

यस्तै, कार्यसमितिमा सवारी साधनमा युरो—४ मापदण्ड लागु गर्ने उल्लेख छ । यसको अर्थ सरकारले वायु प्रदूषण नियन्त्रणको लागि युरो—४ जस्तै समानस्तरको मापदण्ड ल्याउन खोजेको थियो । तर स्वार्थ समूहहरुको चलखेलका कारण प्रदूषण कम गर्ने सवारीसाधनको आयात गर्ने गरी नयाँ मापदण्ड बन्न सकेन ।

वन तथा वातावरण मन्त्रालयले युरो—६ लागु गर्ने गरी योजना बनाएको मन्त्रालयको मापदण्ड शाखा प्रमुख नविन पोखरेलले जानकारी दिए । भन्छन्, ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०७९ लागू गर्न खोजिएको हो । अघिल्लो सरकारको पालामा नै युरो—६ को प्रस्ताव गरेर पठाइएको मस्यौदा विकास समितिमा अड्क्यो ।’

नयाँ सरकार आएपछि प्रधानमन्त्री कार्यालयले जहाँ जुनसुकै प्रस्ताव पेश गरेपनि पुन प्रधानमन्त्री समक्ष पेश गर्ने गरी मस्यौदा फिर्ता पठाएको उनले जानकारी दिए । उक्त मस्यौदामा सानादेखि ठूला सबै सवारी, दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे सवारी साधनमा युरो—६ को मापदण्ड लागु गर्न खोजिएको थियो । अफसोच, अहिलेसम्म हामी कहाँ नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ नै कायम छ । जसअनुसार हाल आयात तथा सञ्चालन हुने सवारीसाधनमा युरो—३ अर्थात बिएस थ्रीसरहको प्रदूषण मापदण्ड गरिन्छ ।

IMG-20230317-WA00271679123493.jpg

कार्यसमितिमा इट्टा भट्टाको अध्ययन गर्ने भनिएपनि नयाँ कार्ययोजना आएपछि भएको छैन । उपत्यकामा प्रदूषण बढाउन ईटा भट्टाको ठूलो भूमिका रहेको कार्यसमितिको प्रतिवेदनमै उल्लेख छ । यस्तै, कार्यसमितिमा सरकारले पास गरेका सवारी साधनलाई हरियो स्टीकर दिने उल्लेख छ । वातावरण विभागले पनि यातायात व्यवस्थापन विभागले हरियो स्टीकर  दिएको/नदिएको बारे छड्के जाँच गर्न सक्छ ।

हाल प्रदेशअन्तर्गत हरियो स्टीकर दिने चलन छ । बाग्मती प्रदेशअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईले यातायात व्यवस्थापन विभागबाट हरियो स्टीकर ६/६ महिनामा प्रदूषण जाँच गर्दै बाँडिरहेको जानकारी दिए । तर उनले यस आर्थिक वर्षमा कति सवारीलाई हरियो स्टीकर बाँडियो भनेर तथ्यांक भन्न सकेनन् । यता हरियो स्टीकरमा कडाइ नगर्दा पनि प्रदूषण नरोकिएको विज्ञहरुले बताउँदै आएका छन् ।

वातावरण विभागका प्रवक्ता शंकर प्रसाद पौडेल कार्यसमितिका कामहरु पूर्ण रुपमा सञ्चालनमा नआउनु बजेट कटौतीको कारणले भएको तर्क गर्छन् । भन्छन्, ‘एक त कार्यसमिति कोभिड—१९ व्यापक भएको बेला आयो । त्यो बेला काम गर्ने वातावरण नै थिएन । पछिल्लो समय सबै मन्त्रालयको बजेट कटौतीमा हाम्रो पनि परेको छ । कहिले त सञ्चार खर्च समेत नपुग्ने अवस्था हुन्छ ।’

IMG-20230317-WA00251679123493.jpg

काठमाडौंको प्रदूषण वृद्धिमा भने मौसमले पनि असर पार्ने उनले बताए । भन्छन्, ‘सिजनले फरक पार्ने भएकोले सबै प्रदूषण एकैपटक समाधान हुन्छ भन्ने हुँदैन । हिउँदमा बढी प्रदूषण हुनु स्वभाविक हो । हावा कम चल्छ, पानी कम पर्छ । अहिले त पानी नै परेन, दिदउँद पूरै सुख्खा जस्तै रह्यो । पूर्वी नेपालमा डढेलो लाग्यो । त्यसको असर पनि पर्नेछ ।’

दक्षिण एसिया विश्वकै प्रदूषित क्षेत्रहरुमध्ये पर्ने गरेको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सक्दैन । तर एक्यूआई साइटले भनेको सबै तथ्यांकलाई आधिकारिक मान्न नसकिने वातावरण विभागका प्रवक्ता पौडेल बताउछन् । भन्छन्, ‘हाम्रो क्षेत्र प्रदूषित क्षेत्रमा त पर्छ । तर त्यो साइटमा व्याख्या गरेको जस्तो चाहिँ होइन । सेटलाइट इमेजबाट लिइएको डेटा त्यति भरपर्दो हुन्न । ग्राउन्ड स्टेसन त हामीसँग छ । २४ घण्टाबाट लिइएको तथ्यांकको औसतलाई मात्र हामी स्ट्यान्डर्ड मान्छौँ ।’ नियमित फोहोर जलाउने काम बन्द गर्ने, मोबिल नबाल्ने, सडकका खाल्डाखुल्डी पुर्ने, गाडी नियमित मर्मसम्भार मात्र गर्ने हो भने पनि प्रदूषणको मात्रा कम हुँदै जाने उनको भनाइ छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १२:४१
समसामयिक
Weather Update